दफा ९१
अवकाश कोषको व्यवस्था
(१) स्थानीय तहले स्थानीय सेवाका कर्मचारीले निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम अवकास हुँदा प्राप्त गर्ने योगदानमा आधारित उपदान वा निवृत्तभरण, औषधि उपचार लगायतका सुविधा उपलब्ध गराउनका लागि एक अवकास कोष स्थापना गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा स्थानीय तहले आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाईपाई आएको मासिक तलबबाट दश प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी जम्मा गर्नु पर्नेछ ।
(३) स्थानीय सेवाका कर्मचारी अवकाश हुँदा कानून बमोजिम पाउने योगदानमा आधारित उपदान वा निवृत्तभरण, औषधि उपचार लगायतका सबै सुविधा उपदफा (१) बमोजिमको कोषबाट उपलब्ध गराउनु पर्नेछ ।
(४) यस दफा बमोजिमको अवकाश कोषको रकम अन्य प्रयोजनको लागि खर्च गरिने छैन ।
(५) अवकाश कोष सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।